COVID19 Dolpa Yarsagumba

कोरोनाकालमा यार्चाकुम्भु संकलन

May 6, 2020

यार्चाकुम्भुको विश्वबजार खस्किँदो छ र हङकङ, चीन, सिंगापुरका व्यापारीले किन्न नसक्ने स्थिति छ भन्ने सन्देश हिमाली गाउँगाउँमा पुर्‍याउनुपर्छ ।

यार्चाकुम्भु हिमाली बासिन्दाको आयको मुख्य स्रोतका रूपमा स्थापित भैसकेको छ । पछिल्ला केही वर्षमा यार्चाकुम्भुको मूल्य अनपेक्षित रूपमा बढिरहेको छ ।  मूल्यवृद्धिसँगै यसैमा निर्भर हुनेहरू पनि बढिरहेका छन् । हरेक वर्ष जेठको पहिलो हप्ताभित्र विभिन्न जिल्लाका संकलनकर्ता यार्चाकुम्भु पाइने पाटनहरूमा पुगिसक्छन् । मध्यवर्ती क्षेत्रमा राष्ट्रिय निकुञ्जबाट संकलन पुर्जी लिनुपर्छ । अन्यत्र स्थानीय गाउँपालिकाले संकलन पुर्जी दिन्छ ।

यार्चाकुम्भु संकलन गर्न जानेहरूले रासन, न्यानो कपडा, दाउरा लगायतका सामग्रीको जोहो गर्ने बेला यही हो । डोल्पा, मनाङ, रुकुम, दार्चुलाका पाटनहरूमा देशभरबाट मान्छे पुग्छन् । डोल्पामा पाइने यार्चाकुम्भु अरू जिल्लाको तुलनामा महँगोमा किनबेच हुन्छ । २०६४ सालतिर ४० रुपैयाँ प्रतिगोटा पाइने यार्चाकुम्भु गत वर्ष १ हजार ५ सय प्रतिगोटा बिक्री भएको थियो ।

डोल्पाका विद्यालयहरू यार्चाकुम्भु संकलनको समयमा बन्द हुन्छन् । लगभग १ महिना शिक्षकहरू पनि विद्यार्थीसँगै यार्चाकुम्भु संकलन गर्न जाने हुनाले अधिकांश विद्यालयको शौक्षिक गुणस्तर कमजोर छ । यो समयमा खेतीपाती र अन्य काम पनि ठप्प हुन्छन् । पठनपाठन र अन्य काम छोडेर यार्चाकुम्भु संकलनका लागि समय छुट्याउनुले पनि हिमाली जीविकोपार्जनमा यसको महत्त्व देखाउँछ । हिमाली बासिन्दाले यसरी २ देखि ३ महिना खटेर गरेको कमाइले वर्षभरि खर्च पुर्‍याउँछन् । घरखर्च, विद्यालय शुल्क, औषधि उपचारदेखि ऋण तिर्नसम्म यार्चाकुम्भुको भर पर्नुपर्छ । व्यवसाय बढाउन पनि यसैले मद्दत गर्छ । त्यसैले ज्यान जोखिममा पारेर स्थानीय बासिन्दा यार्चाकुम्भु संकलनमा हिँड्ने गर्छन् ।

यार्चाकुम्भुका कारण डोल्पामा प्राय: खेतीपाती गर्न छाडिसकियो । यार्चाकुम्भुको तुलनामा खेतीपातीको आम्दानी निकै कम हुन्छ । दु:ख भने खेतीपातीमा बढी छ । यार्चाकुम्भुको कमाइकै डोल्पा सदरमुकाम वरिपरि वा अन्न फल्ने खेतमा अहिले घरहरू ठडिन थालेका छन् ।

यस्तोमा स्थानीय तहले कोरोना महामारीको यो बेला यार्चाकुम्भु संकलन गर्न बन्देज लगाए धेरै घरको चुलोमा आगो बाल्दैन । त्यसैले हिमाली जनतालाई यार्चाकुम्भु संकलन गर्न नपाइने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।

४३ दिनदेखि देश ठप्प छ । कोरोना संक्रमितको संख्या पनि बढेर ८२ पुगिसक्यो । यहाँसम्म आइपुग्दा मानसिक र आर्थिक रूपमा हामी निकै प्रभावित भैसकेका छौं । कोरोना भाइरस फैलिन नदिन एकआपसमा १ मिटरको दूरी कायम गर्नुपर्छ भनिँदै आएको छ । सिंगो विश्व सामाजिक दूरी बढाएर कोरोना कहर कम गर्न लागिपरेको बेला हिमाली जनताले यार्चाकुम्भु संकलन गर्न पाउँछन् कि पाउँदैनन् भन्ने दुविधा बढेको छ । यार्चाकुम्भु टिप्न अनुमति दिनु उचित हुन्छ कि हुन्न भन्ने प्रश्नमा छलफल जरुरी छ । यार्चाकुम्भु संकलन गर्न जाँदा कोरोना भाइरस सर्ने जोखिम बढी हुन्छ भन्ने जानकारी सबैमा छ । यदि अहिले यार्चाकुम्भु संकलनका लागि अनुमति दिने हो भने कोरोना भाइरसले हिमाली जिल्लामा पनि भयावह रूप लिने सम्भावना छ ।

डोल्पामा यार्चाकुम्भु संकलनका लागि रुकुम, जाजरकोट, जुम्ला, मुगु, कालीकोट र राजधानीबाट समेत मान्छेहरू आउने गर्छन् । ३ महिनाको संकलन अवधिमा लगभग १ लाख मानिसको भीड हिमाली पाटनमा हुन सक्छ । अहिले यार्चाकुम्भु संकलन गर्न दिने हो भने लकडाउनको बाबजुद छिमेकी जिल्लाहरूबाट संकलनकर्ता आउने पक्का छ । राज्यले यार्चाकुम्भु संकलनका लागि अनुमति नदिए पनि लुकेर वा छलेर संकलन गरिन्छ नै । गत वर्ष संकलन समयभन्दा अघि नै यार्चाकुम्भु पाइने पाटनहरूमा मानिसको भीड लागिसकेको थियो । यो वर्ष पनि यस्तै भीड लाग्ने पक्का छ । त्यसैले कोरोना संक्रमणको त्रास रोक्न स्थानीय सरकारको रोहवरमा सुरक्षाकर्मी परिचालन गरेर यार्चाकुम्भु संकलन रोक्न सकिन्छ । यदि संकलन रोक्न सकिएन भने यार्चाकुम्भु पाइने पाटनहरूमा एक व्यक्ति मात्रै कोरोना संक्रमण भए एकैपटक धेरै संकलनकर्तामा फैलन्छ । यार्चाकुम्भु पाइने विकट हिमाली जिल्लाहरूमा सुरक्षाकर्मीको अभाव छ ।

यार्चाकुम्भु संकलन रोकियो भने पनि यार्चाकुम्भु पाउने पाटन वरपर बस्नेहरूले सजिलै संकलन गर्नेछन् । यस्तोमा पाटन टाढाका निमुखा जनता बन्द गर्ने निर्णयको मारमा पर्नेछन् र वर्षभर अभावमा बाँच्न बाध्य हुनेछन् । भोकको कहर कम गर्न सरकारले छिटो ध्यान दिन जरुरी छ । बेलैमा तीनै तहका सरकारले ठोस निर्णय गर्नुपर्छ ।

संकलन गर्ने नदिने निर्णय गर्दा तत्कालका लागि आफ्नो रोजीरोटी खोसिएजस्तो लागे पनि यदि सरकारी निकायहरूले सकारात्मक सोच्न र योजना बनाउने हो भने यार्चाकुम्भुमा निर्भर हिमाली जीविकाको वैकल्पिक स्रोत खोज्न सक्छ । हिमाली जिल्लाहरू प्राकृतिक स्रोत र साधनमा धनी छन् । यस्ता जिल्लाहरूमा यार्चाकुम्भु मात्रैले रोजीरोटी धान्दैन । जीविकोपार्जनको अन्य विकल्पको पनि खोजी गरिनुपर्छ । अन्य दिगो जीविकापार्जनका स्रोतहरू प्रचुर मात्रामा छन् । यो वर्ष यार्चाकुम्भु संकलन रोकेदेखि जनता र स्थानीय निकाय अन्य स्रोत खोज्न बाध्य हुन्छन् । सबै सम्बन्धित निकायले योजना बनाउने हो भने पर्यटन, फलफूल खेती र कृषि दिगो र सुहाउँदो आम्दानीका स्रोतहरू हुन सक्छन् ।

यार्चाकुम्भु संकलनको सिजनअगावै राज्यले यो विषयमा कठोर निर्णयका साथ प्रस्तुत हुनुपर्छ । त्यसका लागि, पहिले स्थानीय सरकारको सहयोग लिने र आवश्यक सुरक्षाकर्मी तयार पारी यार्चाकुम्भु संकलनलाई पूर्ण रूपमा रोक्नुपर्छ । अनि यार्चाकुम्भु निर्यातका लागि दिइने छुट पुर्जी यो वर्ष दिनु हुन्न । त्यस्तै यार्चाकुम्भु संकलनलाई अवैध घोषणा गरेर कसैले संकालन गरेर बिक्री वितरण गरेको पाए वन ऐनअनुसार कारबाहीको व्यवस्था गरिनुपर्छ । यार्चाकुम्भुको विश्व बजार खस्किँदो छ र हङकङ, चीन, सिंगापुरका व्यापारीले किन्न नसक्ने स्थिति छ भन्ने सन्देश हिमाली गाउँगाउँमा पुर्‍याउनुपर्छ ।

यदि बढी माग हुने विश्व बजार अहिले बन्द छ भन्ने जानकारी संकलनकर्तासम्म पुर्‍याउन सकियो भने ज्यान जोखिममा पारेर यार्चाकुम्भु टिप्न कोही पनि जाँदैनन् । जनतालाई भोकमरीबाट बचाउन र यार्चाकुम्भु संकलनमा रोक लगाउन सकियो भने गिर्दो उच्च हिमाली पर्यावरणले पनि आफ्नो प्राकृतिक रूपमा फर्किने मौका पाउनेछ । बर्सेनि लाखौं मानिसको चपेटामा पर्ने उच्च हिमाली क्षेत्रका पाटनहरूमा फेरि पनि दुर्लभ हिउँचितुवा, नाउर, घोरलहरू चरिचरन गर्नेछन् । त्यहाँका खोलानाला यार्चाकुम्भु टिप्न गएका लाखौं मान्छेले फालेका प्लास्टिक र फोहोरबाट मुक्त हुनेछन् । यसरी तीनै तहका सरकार र स्थानीय समुदाय, व्यापारीसँगको सामूहिक छलफल र सहयोगबाट संकलनकर्तालाई खाद्यान्न अभाव हुन नदिई यो वर्ष यार्चाकुम्भु संकलनको व्यवस्थापन गर्न सकियो भने फैलँदो कोरोना संक्रमणबाट जनता बच्नेछन् । र, क्षय हुँदै गएको उच्च हिमाली पर्यावरणले पनि फेरि आफ्नै रूपमा फर्कने अवसर पाउनेछ ।

Originally published in Kantipur.

Leave a Reply

Your email address will not be published. Required fields are marked *