MY BLOG

पर्यावरण विनाशले महामारी फैलाउने भाइरस भित्र्याउन सघाउँछ

This article was published in Nayapatrika Daily https://www.nayapatrikadaily.com/news-details/41008/2020-04-11

कोरोना भाइरस (कोभिड– १९) ले विश्व समुदायलाई आतंकित गरिरहेको छ । यस्को उपचार र रोकथामका लागि विश्वका वैज्ञानिक, अनुसन्धान केन्द्रहरू अहोरात्र खटिरहेका छन् । 

अत्यन्त भरपर्दो स्वास्थ्य सेवा भएका विश्वका विकसित देश पनि कोरोना भाइरसबाट आत्तिएका छन् । कोरोना भाइरस देखिएको करिब चार महिनाको अवधिमा विश्वको अर्थतन्त्रसमेत प्रभावित बनेको छ । कोरोना भाइरसले विश्वका आधा जनसंख्यालाई क्वारेन्टाइनमा बस्न बाध्य पारिरहेको छ । 

विश्वलाई संकटमा पार्ने यो कोरोनाको औषधि खोजी भइरहँदा यो भाइरस वन्यजन्तुको कारण उत्पत्ति भएको भन्ने भ्रम फैलिरहेको छ । मानव जातिको अस्तित्वमा असर पार्ने गरी फैलिएको यो भाइरस वन्यजन्तुकै कारणले फैलिएको हो भनेर भ्रम फैलाउनु भनेको हामीले प्रकृतिमाथि गरेको दोहनको दोषबाट बच्न खोज्नु मात्र हो । 

कोरोना भाइरस सालक वा चमेरोबाट वा दुवैबाट सरेको भन्ने निकै हल्ला भयो । यो भ्रमलाई केही हदसम्म बल पुऱ्याउन कुकुर तथा बिरालोमा पनि कोरोना देखिएको भनेर आउने समाचारहरूले सहयोग गरेको छ । 

कोरोना भाइरस कहाँबाट आयो भन्नेमा विश्व अहिले दुई भागमा विभाजित भएको छ । तर, हामीले बुझ्नुपर्ने कुरा के हो भने, यस्ता भाइरस प्रकृतिमा लाखौँ, करोडौँको संख्यामा हुन्छन् । भाइरस सूक्ष्म तरिकाले जल, जमिन र जंगलमा वास गरिरहेको हुन्छ । यसले मानव शरीरमा वास पाएपछि प्रतिरक्षा प्रणाली कमजोर बनाएर मानिसलाई रोगी बनाउँछ । सन् १९४० देखि हजारौँ रोगका भाइरसहरू देखापर्दै आएका छन् । जस्तै एचआइभी, इबोला, जिका, कोरोना आदि । यसमध्ये ६० प्रतिशतभन्दा बढी भाइरसहरू जनावरका शरीरबाट उत्पत्ति भएको भनिन्छ । 

त्यसमा पनि अधिकांश वन्यजन्तुबाट उत्पत्ति भएको देखिन्छ । तर, यसरी वन्यजन्तुबाट  मानव शरीरमा यस्ता भाइरसहरू आउनुमा मानिसकै गल्ती छ । जंगली जनावरहरूलाई यस घातक प्रकोपहरूको स्रोतको रूपमा चित्रण गरिए पनि घातक रोगजन्य भाइरसबाट जंगली जनावर संक्रमित हुँदैनन् । 

घातक भाइरस जंगली जनावरहरूमा हानिरहित तरिकाले बसिरहेका हुन्छन् । तर, मान्छेमा यिनै जनावरबाट सरेको देखिनु पछाडिको कारण भने जंगल फँडानी, अव्यवस्थित औद्योगीकरण, अव्यवस्थित सहरीकरण र सहरहरूको विस्तार हो । जसले गर्दा जंगली जनावरमा रहेका घातक परजीवीले मानव शरीरमा आउने बाटो पाएका छन् । 

त्यस्ता वन्यजन्तुको सिकार गरेर मासु खाने र त्यस्का विभिन्न अंगको प्रयोग गरिनुले पनि वन्यजन्तुमा भएका भाइरस मानव शरीरमा छिर्ने मौका पाइरहेका हुन्छन् । विभिन्न वैज्ञानिक अनुसन्धानले देखाएअनुसार चमेरा प्रजातिसँग सम्बन्धित इबोला संक्रमण मध्य र पश्चिम अफ्रिकन देशहरूमा भेटिएको थियो । जहाँ वन विनाश उच्चदरमा भएको पाइन्छ ।

वन विनाशले गर्दा विभिन्न चमेराका प्रजातिहरूले सहर, बजार, घरको आँगनमा भएका रूखहरूमा आफ्नो वासस्थान बनाउन थाले । यसले गर्दा स्थानीयले खाने फलफूल, अन्नमा चमेराको ऱ्याल र पिसाब पाइने सम्भावना बढ्यो । 

मानव जातिले चमेराको सिकार गरी मासु खान थालेपछि चमेरामा रहेको रोगजन्य भाइरस उजागर भयो । यसले गर्दा भाइरस शरीरमा प्रवेश गरेर संख्या बढाउने ठाउँ पाउन थाले । त्यसले गर्दा स्वास्थ्यस्थित सूचकांक अग्र स्थानमा रहेका देशहरूमा समेत मानव लासको पहाड बन्न थाले ।

प्रख्यात पुस्तक स्पिल ओभरका लेखक डेविड कुमेन्नका अनुसार ट्रपिकल जंगल र अन्य जैविक भूपरिधिले लाखौँ वन्यजन्तु र हजारौँ अज्ञात भाइरसहरूलाई आश्रय दिएका हुन्छन् । उनले रूख काट्ने र त्यहाँ आश्रित जीवजन्तुको मासु खाने गर्नाले प्राकृतिक प्रणालीलाई असर गर्ने बताएका छन् । उनले भनेका छन्, ‘प्रकृति असन्तुलन पैदा गरी लाखौँ अज्ञात भाइरसहरूलाई तिनको प्राकृतिक बाहकबाट छुट्न बाध्य पार्दछौँ र अन्त्यमा हामी तिनको बाहक हुनुपर्ने हुन्छ ।’

घातक रोगजन्य भाइरस वन्यजन्तुबाट मानवमा सजिलै सरेर द्रुतगतिमा फैलिँदै महामारीको रूप लिइरहेका छन् । अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्रको तथ्यांकअनुसार आधाभन्दा बढी नयाँ रोगहरू जनावरबाट उत्पत्ति भएका छन् । 

विभिन्न घातक रोगहरू जस्तै रेबिज, प्लेग शताब्दी पहिलेदेखि नै वन्यजन्तुवाट मानव जातिमा सरिसकेका छन् । मर्स भाइरस चमेराबाट मान्छेमा सरेको भनिन्छ । तर, अहिले यसको प्रकोप न्यून छ । ‘लासा फिभर’ १९६९ मा नाइजेरियामा देखिएको, ‘निपात’ मलेसियामा र ‘जिका’ अफ्रिकामा देखिएका थिए । यी रोगहरू वन्यजन्तुबाट नै सरेको विश्वास गरिन्छ । 

यस्ता विभिन्न घातक रोगहरूले विभिन्न कालखण्डमा लाखौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेको र विश्वलाई आतंकित बनाएको छ । विभिन्न वैज्ञानिकले वन्यजन्तुबाट उत्पत्ति हुने यस्ता रोगलाई विश्व स्वास्थ्य सुरक्षा र अर्थतन्त्रका लागि शक्तिशाली चुनौतीका रूपमा प्रस्तुत गरिरहेका छन् ।

केही वैज्ञानिकले यस्ता घातक महामारी फैलनुको कारण वन्यजन्तु भएको भन्दै गर्दा पर्यावरण विनाश र हाम्रो व्यवहारसँग जोडेर पनि हेर्नु आवश्यक छ । वन फँडानी, अव्यवस्थित बस्ती विस्तार, खनिज उत्खनन, विकास निर्माण, तीव्र सहरीकरण र बढ्दो जनसंख्याका कारण मानव र वन्यजन्तुबीचको दूरी घट्दो छ । 

वन्यजन्तुको सिकारलाई आफ्नो इज्जत, प्रतिष्ठा र शक्तिसँग जोडेर हेर्न चलनले पनि प्रकृतिको विनाशलाई सघाएको छ । त्यसैगरी वन्यजन्तुलाई घरपालुवा जनावरको रूपमा प्रयोग गर्न खोज्नु, विकासोन्मुख देशहरूमा अव्यवस्थित चिडियाघरको विस्तार पनि अर्काे कारण हो ।

वन्यजन्तुका दाँत, छाला, सिङ तथा शरीरका छालाको कम्मरपेटी, ब्याग, जुत्ता बनाउने चलन पनि बढेको छ । घर तथा अफिस सजाउन वन्यजन्तुको अंगको प्रयोेग पनि हुने गरेको छ । घना जंगलमा मात्र हुने वन्यजन्तुका प्रजातिहरू मानिसले देख्न थालेका छन् । जसले गर्दा विभिन्न रोगहरू वन्यजन्तुबाट मानव जातिमा सर्ने क्रम बढदो छ । अव्यवस्थित विकासको मूल्य अदृश्य रूपमा यस्ता रोगहरूको संक्रमणबाट मानिसले चुकाउनुपरेको छ । 

कोराेना, इबोलाजस्ता प्रकोपले के स्पष्ट गरेको छ भने यिनीहरूको कुनै राजनीतिक, जैविक वा प्राकृतिक सीमा हुँदैन । महामारीले न त मान्छेको आर्थिक अवस्था हेर्छ न सामाजिक र राजनीतिक हैसियत । 

यी भाइरस वन्यजन्तुको कोषमा बसुन्जेल मानिसका लागि हानिकारक हुँदैनन् । जब हामी पर्यावरण विनाश गर्छाैं, यी रोग वन्यजन्तुबाट हामीमा सरेर प्रकोपको रूप लिन्छ । यस्ता महामारी र प्रकोपबाट बच्नका लागि हामीले बेलैमा सोचेर अघि बढेनौँ भने भविष्यमा झन् ठूला महामारीको चपेटामा पर्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् । डेविड क्युमेन आफ्नो पुस्तक स्पिल ओभरमा लेख्छन्, ‘पर्यावरणको विनाश र क्षय हुँदा हामीले वन्यजन्तु उत्पादित धेरै प्रकोपहरूको सामना गर्नुपर्नेछ ।’ 

यस्तो महामारी रोक्न विकसित र अल्पविकसित समाजले बेलैमा सोच्नुपर्छ। विकसित राष्ट्रले आर्थिक उन्नतिका लागि प्राकृतिक श्रोतको विनाश कम गर्नुपर्छ । अविकसित समाजले पनि वन्यजन्तुको सिकार गरी जीविका चलाउने कामलाई न्यून गर्नुपर्छ । 

प्रकृतिको संरक्षण गरेमा घातक भाइरसको वासस्थानमा विचलन आउँदैन र तिनले मानव जातिको शरीरमा पसेर विनाश गर्न पाउँदैनन् । हामीले व्यवहारमा परिवर्तन ल्याएर पर्यावरणलाई पूर्ण सन्तुलन कायम गर्न सक्यौँ भने आउँदा दिनमा कोभिड– १९ वा इबोलाजस्ता रोगले लाखौँ मान्छेको ज्यान जोखिममा पारेको समाचार सुन्नुपर्दैन । मानव जातिले विभिन्न यस्ता महामारीलाई प्रकृतिको चेनावनीको रूपमा बुझेर अहिलेदेखि नै संगाठित रूपमा अघि नबढेसम्म भावी सन्ततिहरूले यस्तो महामारी भोग्नु नपर्नेमा दुईमत नहोला